6/grid1/News

हरिसुन्दर लाखे श्रेष्ठको ‘भगवान खः मांबा’ बोलको म्युजिक भिडियो लोकार्पण

1

हरिसुन्दर लाखे श्रेष्ठको ‘भगवान खः मांबा’ बोलको म्युजिक भिडियो लोकार्पण

मध्यपुर थिमि । हरिसुन्दर लाखे श्रेष्ठको ‘भगवान खः मांबा’ बोलको म्युजिक भिडियोलाई एक कार्यक्रमकाबीच प्रिमियर गरिएको छ । नेपालभाषाको ‘भगवान खः मांबा’ले आमाबुवा नै हाम्रा भगवान हुन् भन्ने अर्थ दिन्छ । थिमि बैंक्वेटमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले म्युजिक भिडियो लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा मेयर श्रेष्ठले तेलुगू भाषामा निर्माण भएको गीतले अन्तर्राष्ट्रिय पुरस्कार जितेको स्मरण गर्दै भाषाविशेषको गीतमा परिधि निर्धारण नहुने बताउनुभयो । हुनपनि दक्षिण भारतको आन्ध्र प्रदेश र तेलंगाना राज्यमा बोलिने द्रविड़ भाषा समूहको तेलुगूमा निर्माण भएको सो गीतलाई अन्य भाषामा अनुवाद गरिएको थियो । सांगीतिक अभिव्यक्तिलाई जुनसुकै समुदाय, वर्ग र भाषामा बनाएर अन्तर्राष्ट्रियकरण गर्न सकिने उहाँको भनाइ थियो । ‘अब आमाबुवाप्रति समर्पित गरेर बनाइएको हरिसुन्दर लाखे श्रेष्ठको गीतलाई भाइरल बनाउनुपर्छ । यसमा सिंगो नगरपालिकाले सहयोग गर्छ ।’ मेयर श्रेष्ठको आश्वासन थियो ।


गीतमा टिप्पणी गर्दै वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलले गीतको मुखरा र अन्तरालाई छन्द र शब्द गनेर निर्माण गर्न सकिने बताउनुभयो । भगवान खः मांबा बोलको गीतमा यी दुइटै संयोजन भएर उत्कृष्ट रचना हुनपुगेको ढुंगलले दाबी गर्नुभयो । ‘आँखा चिम्लेर गीत सुन्दा जति आनन्द आउँछ, त्यहिँबाट गीतको रचनालाई मूल्यांकन गर्नसकिने उदाहरण दिनुहुँदै आज लोकार्पण गरिएको गीत पनि सोही दर्जाको रहेको छ ।’ वरिष्ठ गीतकार ढुंगेलले भन्नुभयो ।
त्यस्तै, वरिष्ठ साहित्यकार तथा प्राज्ञ ध्रुव मधिकर्मीले लोकार्पण गरिएको गीतले विचलन आइसकेको हाम्रो समाजमा आमाबुवाप्रतिको कर्तव्यबोध गराउने दाबी गर्नुभयो । पश्चिमा संस्कारले गाँजेको हाम्रो समाजमा आमाबुवाप्रतिको दायित्व बिर्सिएका सन्ततीलाई पूर्खाप्रतिको कर्तव्य निर्वाह गर्नुपर्ने सन्देश दिने उहाँको भनाइ थियो ।  
कार्यक्रममा हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठलाई ‘कला दीर्घसेवा सम्मान’ तथा वरिष्ठ संगीतकार रत्न (बेहोसी) बज्राचार्यलाई ‘संगीत दीर्घसेवा सम्मान’ दिइएको थियो । आमाबुवाप्रतिको दायित्वबोध गराउने आसयसहितको गीत लोकार्पण कार्यक्रममा नगरका सय वर्षिय जेष्ठनागरिक पुरुष ज्ञानलाल श्रेष्ठ र एक सय तीन वर्षिय जेष्ठनागरिक महिला कृष्णमाया चक्रधरलाई अभिनन्दन गरिएको थियो ।  
दीवंगत भइसकेका आमाबुवाप्रति समर्पित गरेर लाखे श्रेष्ठले रचना गरी गाउनुभएको गीतलाई मध्यपुर योग साधना केन्द्रले निर्माण गरेको हो । वरिष्ठ संगीतकार रत्न (बेहोसी) बज्राचार्यले संगीत दिनुभएको गीतलाई सुरेन्द्र श्रेष्ठले एरेन्ज गर्नुभएको हो ।
युवा निर्देशक प्रदीप खड्गीको निर्देशनमा बनेको म्युजिक भिडियोमा हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठले बुवाको भूमिकामा कलाकारिता प्रस्तुत गर्नुभएको छ । त्यस्तै कलाकारहरुमा रचना सिंह, यमन श्रेष्ठ, अनु महर्जन, सिजन कायस्थ, साहिल द्वारे, हरिसुन्दर लाखे श्रेष्ठ, रियान श्रेष्ठ, रोशन भासिमा, सम्यक मानन्धर छन् । शंकर महर्जनको छायांकन र सुरेश ख्वाक श्रेष्ठको सहछायांकन रहेको भिडियोमा स्वस्थानी वैद्यले स्टील फोटोग्राफी गर्नुभएको छ । पोस्टर डिजाइनमा बौचा व मैचाका प्रकाश चित्रकारले सहकार्य गरेका हुन् ।
त्यस्तै, जगतबहादुर श्रेष्ठ (प्रमोद), न्हुछे मानन्धर, विशेश्वर श्रेष्ठ, सिद्धिचरण श्रेष्ठ, गंगाराम मानन्धर, रत्नप्रसाद मानन्धर, चन्द्र श्रेष्ठ, हिरारत्न बज्राचार्य, सुरेन्द्र तुबञ्जा श्रेष्ठ म्युजिक भिडियोका निर्माता हुन् ।

Post a Comment

1Comments
Post a Comment